मिखाइल लेर्मन्तोभको २०८ औँ जन्म जयन्ती कार्यक्रम समपन्न

04th October,2021

   
    ४ अक्टोबर सन् २०२१ का दिन काठमाडौँस्थित रुसी सदनमा रूसी कवि तथा उपन्यासकार मिखाइल लेर्मन्तोभको २०८ औँ जन्म जयन्ती प्रति समर्पित हुँदै एक साहित्यिक गोष्ठीको आयोजना गरियो। यसै अवसरमा नेपाली साहित्यकार चन्द्रकान्त आचार्यको महाकाव्य ‘दर्पण’ तथा कथासंग्रह ‘सिर्जना’को विमोचन कार्यक्रम सम्पन्न गरियो।
   कार्यक्रमको अध्यक्षता नेपाल रुस साहित्य समाजका अध्यक्ष प्रा.डा. जङ्गव चौहानज्यूले गर्नु भएको थियो। प्रमुख अतिथिको रुपमा प्रमुख नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीज्यू उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिको रुपमा पूर्व मन्त्री तथा साहित्य प्रेमी श्रीमती शान्ता मानवीज्यू , विशेष अतिथिका रुपमा कवि एवं समालोचक डा. रामप्रसाद ज्ञवालीज्यू र नियात्राकार एवं समालोचक श्री दामोदर पुडासैनीज्यू उपस्थित हुनुहुन्थ्यो।
 
   नेपाल रुस साहित्य समाजका सदस्य मधु बीसीज्यूले मञ्चमा आसिन अतिथि र स्रष्टाहरुलाई खादा लगाइदिनुभएको थियो। काठमाडौँस्थित रुसी सदनकि निर्देशक श्रीमती युलिया आन्द्रोसोभाले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीज्यूलाई पुष्पगुच्छा प्रदान गर्नुभएको थियो। श्रीमती युलिया आन्द्रोसोभाले उपस्थित सम्पूर्ण साहित्यप्रेमीहरुलाई धन्यवाद दिनुभयो र रूसी कवि तथा उपन्यासकार मिखाइल लेर्मन्तोभको जीवनका केही अंशहरु उल्लेख गर्नुभयो। मिखाइल लेर्मन्तोभको एउटा कवितालाई श्रीमती युलिया आन्द्रोसोभाले रुसिमा पढेर सुनाउनुभयो। प्रा.डा. जङ्गव चौहानज्यूले उक्त कविताको नेपाली अनुवाद वाचन गर्नुभएको थियो।