इभान पि. मिनायभको प्रतिमा नेपालमा स्थापना
रुसी वैज्ञानिक इभान पाभलोभिच मिनायभको प्रतिमा नेपालमा स्थापना गरिएको छ।
प्राच्यविद्, प्राध्यापक, इभान मिनायभको सम्मानमा काठमाडौंको कलेज अफ जर्नलिज्ममा एक समारोहका बीच उनको सालिक अनावरण कार्यक्रम आज सम्पन्न गरियो, जुन कार्यक्रम अन्तराष्ट्रिय संस्कृति दिवसप्रति समर्पित रहेर गरिएको हो।
उक्त समारोहमा नेपालका लागि रुसी राजदूत महामहिम श्री अलेक्सेइ नोभिकोभ र उनकी धर्मपत्नी उपस्थित हुनुहुन्थ्यो, त्यस्तै गरी काठमाडौंस्थित रुसी हाउसकी प्रमुख युलिया एन्ड्रोसोभा, कलेज अफ मास कम्युनिकेसन्सकी निर्देशक मञ्जु मिश्र, रुस नेपाल मैत्री संघका पूर्वअध्यक्ष कृष्णप्रसाद भण्डारी, युएईका लागि नेपालका पूर्व राजदूत अर्जुन थापा, पिएफयूआर पूर्व छात्र परिषद्का अध्यक्ष बुलन्द थापा, पिएफयूआर पूर्व छात्र परिषद्का सचिव आमोद थापा, अध्यक्ष मित्रकुञ्ज ध्रुव महर्जन, महासचिव मित्रकुञ्ज दीपक श्रेष्ठ,पूर्व अध्यक्ष मित्रकुञ्ज नहेन्द्र प्रधान तथा अरु थुप्रै बुद्धिजीवी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
नेपालका लागि रुसका राजदूतले इभान मिनायभद्वारा रुसमा प्राच्य अध्ययनको विकास र नेपालको इतिहासको वैज्ञानिक अध्ययनमा पुर्याइएको योगदानको बारेमा बताउनुभयो। काठमाडौंस्थित रुसी हाउसकी प्रमुख युलिया एन्ड्रोसोभाले युरोपेली समुदायका लागि नेपालको आविष्कार गर्ने व्यक्तिको सम्झनालाई जोगाउनु पर्ने महत्वबारे बताउँदै भनिन् ,
"हाम्रो साझा कर्तव्य भनेको भावी पुस्ताका लागि पत्रकारिता विज्ञानको गहिराई र शक्तिका सन्दर्भमा मीनायभको उदाहरण पछ्याउँदै उनको यस विरासतको संरक्षण गर्नु हो।"
यसका साथै रूसी भाषा अध्ययनको लागि तयार गरिएको पाठ्यपुस्तकहरू रूसी हाउसका तर्फबाट यस पत्रकारिता कलेजलाई प्रदान पनि गरिएको थियो।