नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सव

20th July,2021

   

   आज नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंस्थित रूसी सदनले आफ्नो साझेदार संगठन नेपाल-रूसी मित्रता तथा संस्कृति संघसंग सहकार्य गर्दै, देशको वर्तमान कोभिड महामारीलाई ध्यानमा राख्दै, सम्पूर्ण सेनेटरी नियमको पालना गरेर सीमित संख्यामा जनभेला गराई एउटा सानो उत्सव कार्यक्रम आयोजना गरेको छ।

   रूसी संघको दूतावासका मिनिस्टर-काउन्सिलर  भिक्तर  भिक्तरोभीच एभसेयेभलाई प्रमूख अतिथिको रूपमा आमन्त्रित गरिएको थियो। कार्यक्रमको अफिसियल भागमा नेपाल-रूस मित्रता संघका कार्यकारी सदस्य अशोक प्रकाश प्रधानले नेपालको परराष्ट्र मन्त्रालयले प्रस्तुत गरेको बधाई सन्देश पढेर सुनाए। भिक्तर  भिक्तरोभीच एभसेयेभले आफ्नो बधाई भाषण प्रस्तूत गरेपछि काठमाडौंस्थित रूसी हाउसकि निर्देशक युलिया आन्द्रोसोभाद्वारा  त्यहाँ उपस्थित सबैलाई बधाई ज्ञापन गरिएको थियो।

   कार्यक्रमको अफिसियल खण्डलाई निरन्तरता दिंदै,  नेपाल - रसिया उद्योग वाणिज्य संघका अध्यक्ष नरेश श्रेष्ठले व्यापार, पर्यटन र दुई देशबीच उच्चस्तरीय प्रतिनिधिमण्डलको आदानप्रदानको आवश्यकताबारे आफ्नो मन्तव्य व्यक्त गरे। त्यस पछि सोभियत तथा रूसी विश्वविद्यालयहरूका नेपाली  स्नातकहरुको संगठन - मित्र कुञ्जका अध्यक्ष ध्रुब महर्जनले उपस्थित पाहुनाहरुलाई सम्बोधन गर्नुका साथै रुसी सरकार र सोभियत संघलाई शिक्षा, उद्योग र उत्पादनको विकासमा नेपालमा उल्लेखनीय योगदान पुर्‍याएकोमा धन्यवाद दिए।

   नेपाल-रुस मित्रता तथा संस्कृति संघका महासचिव श्री स्वराज शाक्यले आफ्नो बधाई भाषणमा कार्यक्रमका पाहुनाहरुलाई सम्बोधन गर्दै सम्झनाको उपहार समेत प्रदान गरी कार्यक्रमको समापन गर्नुभयो। कार्यक्रम सामान्य फोटोग्राफी र उपस्थितहरुका बीच अनौपचारिक संवादहरुका साथ समाप्त भयो।