RUDN विश्वविद्यालयको ६१ औं वार्षिकोत्सव तथा रूसी विज्ञान दिवस मनाइयो
फेब्रुअरी ८, सन् २०२१ का दिन , रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाडौँले , RUDN (पीपुल्स फ्रेंडशिप युनिभर्सिटी अफ रसिया) को ६१ औं वार्षिकोत्सव र रूसी विज्ञान दिवस प्रति समर्पित रही, यस केन्द्रको साझेदार संस्था "मित्र कुञ्ज"(सोवियत र रूसी विश्वविद्यालयका नेपाली स्नातकहरूको संघ) संगको सहकार्यमा एउटा भव्य कार्यक्रम सम्पन्न गर्यो।
आजको दिनमा सबैभन्दा पहिले, महान रूसी वैज्ञानिक दिमित्री इभानोभिच मेंदेलेयेभको जन्मदिनको सम्मानमा पाहुनाहरूले आरसीएससीको इलाकामा अवस्थित उनको प्रतिमामा माल्यार्पण गरे।
कार्यक्रमका पाहुनाहरूमध्ये सोभियत र रूसी विश्वविद्यालयका धेरै स्नातकहरू थिए, विशेष गरी RUDN (पीपुल्स फ्रेंडशिप युनिभर्सिटी अफ रसिया) बाट आज उल्लेखनीय रुपमा पाहुनाहरुको उपस्थिति रहेको थियो। अफिसियल हिस्सा अन्तर्गत आजका प्रमुख अतिथि, RUDN (पीपुल्स फ्रेंडशिप युनिभर्सिटी अफ रसिया)का नेपाल विद्यार्थी संघका अध्यक्ष डा. सोमनाथ अर्यालले पानसमा दीप प्रज्ज्वलित गरेर कार्यक्रमको आरम्भ गर्नुभयो।
त्यसपश्चात सोवियत र रूसी विश्वविद्यालयका नेपाली स्नातकहरूको संघ "मित्र कुञ्ज" का अध्यक्ष - ध्रूव महर्जनले आफ्नो स्वागत भाषणमा सबै सहभागीहरुलाई आजको पुनित अवसरमा शुभकामना व्यक्त गरे र सबैको ध्यानाकर्षण गराए कि मित्र कुञ्जले नियमित रुपमा रसिया र नेपालका केही महत्वपूर्ण तिथिहरुका अवसर पारेर विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गर्दछ। उनले रूसी विज्ञान तथा संस्कृति केन्द्रका तरफबाट यी कार्यक्रमहरूको आयोजनामा संधै नै ठूलो सहयोग प्राप्त भै आइरहेकोमा कृतज्ञता व्यक्त गरे र आगामी दिनहरुमा पनि यस्ता सहयोगहरु प्राप्त हुनेछन भन्ने आफ्नो विश्वास रहेको बताए।
आजका प्रमुख अतिथि, RUDN (पीपुल्स फ्रेंडशिप युनिभर्सिटी अफ रसिया)का नेपाल विद्यार्थी संघका अध्यक्ष डा. सोमनाथ अर्याल, सार्कका पूर्व सचिव अर्जुन बहादुर थापा र अन्य उपस्थितले RUDN (पीपुल्स फ्रेंडशिप युनिभर्सिटी अफ रसिया) को ६१ औं वार्षिकोत्सव र रूसी विज्ञान दिवसको अवसरमा एक अर्कालाई बधाई तथा शुभकामना व्यक्त गर्नुका साथै रसियामा अध्ययन गर्दाका आफ्ना तीता मिठा अनुभव र खुशीका क्षणहरू सम्झना गरे।
उपस्थित व्यक्तिहरूले सोवियत संघ र रुसले ठूलो संख्यामा नेपालीलाई नि: शुल्क रुपमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने सुनौलो अवसर प्रदान गरेको कुरा पनि उल्लेख गरे।
कार्यक्रमको साँझ परम्परागत नेपाली खानाहरु र अनौपचारिक वार्तालापका साथमा सम्पन्न भयो।