नेपाल रुस दौत्य सम्बन्ध स्थापनाको ६२ औं वार्षिकोत्सव नेपालमा भव्यताका साथ मनाईयो

16th November,2018

१६ नोभेम्बर २०१८ का दिन नेपालमा रुस नेपाल दौत्य सम्बन्ध स्थापनाको ६२ औं वार्षिकोत्सव भव्य कार्यक्रम आयोजनाका साथ सम्पन्न गरियो। कार्यक्रमको आयोजना रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाडौँ, नेपाल रुस साहित्य तथा मैत्रीसंघ, मित्रकुन्ज र नेपाल रुस उद्द्योग तथा वाणिज्य संघ को संयुक्त तत्वावधानमा गरिएको थियो।

परम्परागत नेपाली शैली अनुरुप कार्यक्रमको शुरुवात कार्यक्रमका प्रमुख अतिथि सम्माननीय परराष्ट्रमन्त्रि श्री प्रदीप ज्ञवालीज्यू र नेपालका लागि रुसका कार्यवाहक राजदूत श्री युरी युझानिनोभद्वारा संयुक्त रुपमा पानसको दीप प्रज्वलन गरेर भएको थियो। त्यसपछि प्रमूख तथा अरु विशिष्ट उपस्थित पाहुनाहरुले आ-आफ्नो भाषण प्रस्तूत गर्नुभएको थियो। सबै वक्ताहरुले नेपाल रुस को आजसम्मको सुमधुर सम्बन्ध र भाइचाराको बारेमा बोल्नुभएको थियो र यस सम्बन्ध लाई आगामी दिनहरुमा चौतर्फी रुपमा अझै प्रगाढ बनाउंदै लाग्नुपर्ने हामी सबैको कर्तव्य रहेको पनि बताउनुभएको थियो।

रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाडौँ नेपालका तर्फबाट सबै वरिष्ठ पाहुनाहरुलाई सम्झना स्वरूप उपहार प्रदान गरिएको थियो।

कार्यक्रमको शुरुवात रुसी विज्ञान तथा संस्कृति केन्द्रको लबीमा गरिएको थियो र अफिसियल कार्यक्रमको समाप्तिको लगत्तै सबै उपस्थित महानुभावहरु कन्सर्ट हल तर्फ लाग्नुभएको थियो किनकि त्यहाँ रुसबाट आफ्नो लोक नृत्य लिएर नेपाल आएको "रादुगा" नामक टोलि को साथमा सुशिला आर्ट एकेडेमीको प्रस्तुती हुँदै थियो।


साथै यस दिनमा नेपाल रुस दौत्य सम्बन्धप्रति समर्पित तस्विर प्रदर्शनीको पनि आयोजना गरिएको थियो, जसलाई सम्माननीय परराष्ट्र मन्त्रि श्री प्रदीप ज्ञवाली लगायत कैयन उपस्थित पाहुनाहरुले बडो चाखपूर्वक अवलोकन गर्नु भएको थियो। कार्यक्रम बडो स्तरिय तवरले तर्जूमा तथा सम्पन्न गर्न सफल भएको बारे आफ्नो टिप्पणी रुसी विज्ञान तथा संस्कृति केन्द्रको प्रतिक्रिया पुस्तिका मा परराष्ट्र मन्त्रीज्यू ले लेख्नु पनि भएको थियो।

कार्यक्रममा उल्लेखनीय रुपमा दर्शकहरुको सहभागिता रहेको थियो। करिब ३०० जना पाहुनाहरुको सहभागिता रहेको पुष्टि भएको छ , जसमा नेपाली समाजका सदस्यहरु, पार्टनर संगठनका सदस्यहरु, नेपालमा बसोबास गर्ने रुसी नागरिकहरु, नेपालस्थित रुसी राजदूतावासका कर्मचारीहरु लगायत चिनिया, इजरायली तथा अन्य मुलुकका कूटनैतिक निकायहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

उपस्थित सबै पाहुनाहरुले कार्यक्रमको समाप्ति पश्चात नेपाली र रुसी परिकारहरुको रसास्वादन गर्नु भएको थियो।